काठमाण्डौ। आगामी तीन महिना अर्थात् पुस महिनाको अन्तिम साताबाट लमजुङमा निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन हुनेभएको छ। दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको यस आयोजनाको काम तीन महिनाभित्रै सम्पन्न हुने भएसँगै पुसदेखि बिजुली उत्पादन हुनेभएको हो।
हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने १० प्रतिशत मात्र काम बाँकी रहेकाले तीन महिनाभित्रै सम्पन्न गर्दै बिजुली उत्पादन हुने आयोजनाका प्रमुख उज्ज्वल सिलवाल बताए।
अहिले विद्युतीय उपकरण जडान, पाइप जडान कार्य र वाइरिङको काम भइरहेको छ। आयोजनाका अनुसार विद्युत् उपकरण जडानको कार्य ९० प्रतिशत सम्पन्न भएको र अब एक महिनाभित्र काम सम्पन्न हुने छ। आयोजनाको बिजुली १३२ केभी कीर्तिपुर सवस्टेशनमा जोडिने छ।
अधिकांश निर्माणका कार्य सम्पन्न गरिसकेको यस आयोजनाले यसअघि निर्माण कार्य लम्बिँदै गर्दा विद्युत् उत्पादन मिति पटकपटक म्याद राख्दै सार्दै आएको थियो। गत असार महिनादेखि व्यावसायिकरूपमा बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको थियो। तर कोभिड तथा बाढीपहिराले आयोजनामा पुर्याएको क्षतिलगायतका कारण देखाउँदै आएको छ।
दुई अर्ब २९ करोडको लगानीमा निर्माण कार्य सक्ने लक्ष्यका साथ विसं २०७४ बाट सुरु गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो। तर निर्माण अवधि कोभिड बाढीपहिरोलगायत विविध कारणले गर्दा लम्बिन पुग्दा लागत बढ्ने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार उक्त रकमभन्दा करिब ३० करोड बढी लाग्ने भएको छ।