कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पहिलो स्टिम राइस प्लान्ट स्थापना हुने भएको छ । स्थानीय खाद्य उत्पादनलाई प्रशोधन गरी उच्चस्तरको चामल उत्पादन गर्न स्टिम राइस प्लान्ट सञ्चालनमा ल्याइने भएको हो ।
१ सय ५० करोड लगानीमा राजेन्द्र शाहीले स्टिम राइस प्लान्ट स्थापना गर्ने तयारी गरेका हुन् । किसानलाई प्राथमिकतामा राखेर स्थापना हुन लागेको स्टिम राइस प्लान्टमा करिब ८० जनाले रोजगारी पनि पाउने सञ्चालक शाहीले बताए । हाल सञ्चालित कञ्चन खाद्य उद्योगले किसानको माग अनुसार नै यो प्लान्ट स्थापना गर्न लागेको हो ।
सुदूरपश्चिममा पहिलो ठूलो लगानीको प्लान्ट स्थापना हुने भएपछि कम मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता र बिक्री नहुने चिन्ताबाट किसान मुक्त भएका छन् ।
स्टिम प्लान्ट स्थापना भएपछि त्यहाँबाट ग्रेडिङ चामल, मोटा चामल, माला चामल उत्पादन हुनेछन् । मसिनो धानको केही महिना अभाव भएपनि आगामी ६ महिनापछि यसको पर्याप्तता हुने सञ्चालक शाहीले बताए ।