काठमाण्डौ। मुलुकभरमा तोकिएका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रुपमा सूचीकृत नमूना एकीकृत कृषि सहकारीले गौरादह नगरपालिका ५ मा बनाएको कोसेली घरबास (होमस्टे) निर्माण सम्पन्न भएको छ। उक्त कोसेली घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले आज उदघाटन गरेकाछन।
दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहेका उनले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको यो पहिलो ‘कृषि होमस्टे, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्तरूपमा उद्घाटन गरे। प्रदेश नं १ मै पहिलोपटक कृषि सहकारीले एक करोड २० लाखको लागतमा घरबास बनाएर सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले बताए।
पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दूरीमा रहेको यो घरबास देशका विभिन्न सहकारीबाट यहाँको नमूनाखेती अवलोकन भ्रमणमा दैनिक आउने पाहुनाका लागि बनाइएको उनले अध्यक्ष ओलीलाई जानकारी दिए।
कृषि र पर्यटनलाई लक्ष गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर बनेको छ। पाहुना घरमा आठ वटा सुुत्ने, सुविधा सम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष निर्माणगरिएको छ। उक्त होमस्टे निर्माणमा एक करोड २० लाख लागत लागेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा ७० लाख विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारी बनाएको थियो। यी सम्पूर्ण संरचनाको उद्घाटन कार्यक्रममा विभिन्न पदका पदाधिकारीहरु सहभागी भएका थिए।