बुटवल। रुपन्देहीको एक अस्पतालको दोहोराएर शिलान्यास गरिएको छ। सात महिना पहिला शिलान्यास भएको सियारी अस्पतालको पुनः गृहमन्त्री बालकृष्ण खाँणले तामझामसहित शनिबार शिलान्यास गरेका हुन्।
केपी ओली नेतृत्वको सरकारले हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने उद्घोष गरेसँगै सियारीमा तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्याप्रसाद थारुले २०७८ माघ २३ गते शिलान्यास गरेका थिए। सियारी–४ दयानगर छपियामा उक्त अस्पताल भवन बनाउन टेन्डरसमेत भएको थियो।
तत्कालीन गाउँपालिका अध्यक्ष थारुका अनुसार गाउँपालिकाबाट छपिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय भएपछि माघ महिनामै २१ करोड ८० लाख ५० हजार २ सय ९५ रुपैयाँमा टेन्डर आह्नान भएको थियो। उक्त टेन्डरअनुसार कालिगण्डकी रविना जेभिले १८ करोड १ लाख ७ हजार ४ सय ८४ रुपैयाँमा गत असार ८ गते अस्पताल भवनको ठेक्का सम्झौता गरेको छ। पूर्वअध्यक्ष थारुले अस्पताल भवन निर्माण थाल्नुसाटो पुनस् शिलान्यास हुनु बिडम्वना भएको बताए।
गत वर्ष अस्पताल भवन शिलान्यासका तस्बिरहरु अहिले पनि गाउँपालिकाको वेभसाइटमा राखिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले भने गत माघमा ठेक्का सम्झौता नहुँदै शिलान्यास गरिएकोले अहिले ठेक्का सम्झौता भएपछि शनिबार शिलान्यास गरिएको प्रतिक्रिया जनाए। कान्तिपुरबाट