काठमाडौं। सिन्धुलीको तीनपाटन गाउँपालिका–१, बेल्घारीमा एकीकृत बस्तीका लागि पूर्वाधार निर्माण भईरहेका छन्। एकीकृत बस्ती विकासका लागि सहरी विकास तथा भवन कार्यालय, सिन्धुलीले डीपीआर तयार गरी अहिले पूर्वाधार निर्माणको काम गरिरहेका हुन्।
भवन कार्यालयका अनुसार करिब दुई सय बिघा नम्बरी जग्गालाई एकीकृत गरी बस्ती विकास सुरु गरिएको हो। २०७७ सालमा डीपीआर तयार गरी एकीकृत जग्गा विकास पूर्वाधार निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ।
डीपीआर गर्दाको लागत ६६ करोड चार हजार १२४ रुपियाँ रहेको थियो। कार्यक्रमबाट बेलघारीतर्फका ५६५ र भीमस्थानतर्फका छ सय परिवार लाभान्वित हुनेछन्। साथै चँदाहाखोलामा सात किलोमिटर वारिपारि कोरिडोर निर्माण, भीमस्थान–बेलघारी–नक्कले साढे सात किलोमिटर लामो सडक कालोपत्रे, नम्बरी जग्गाको चक्लाबन्दी, बस्तीको हरेक कित्तालाई सडक रेखाले छुने, जग्गाको प्रयोगका आधारमा वर्गीकरण हुने, बसपार्क निर्माणलगायत संरचना बन्ने कार्यालयले जनाएको छ।
हालसम्म चँदाहाखोलामा एक करोड १५ लाख रुपियाँको लागतमा ४७४ मिटर कोरिडोर निर्माण भएको र चालू आर्थिक वर्षमा बहुवर्षे योजनाअन्तर्गत दुई करोड ४५ लाख रुपियाँ बजेट छुट्याएको छ।