काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। कम्पनीले आगामी भदौ २९ गतेदेखि सेयर जारी गर्ने भएको हो।
कम्पनीले यसअघि आयोजना प्रभावितलाई सेयर बाँडफाँट गरिसकेको छ। १०० रुपैयाँ अंकित दरका सेयरमा कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।
कम्पनीले कुल ११ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ। यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता कर्मचारीलाई दिने छ। बाँकी रहेको १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले दरखास्त दिन पाउने छन्।
१३ मेगावटको यो आयोजनाको कुल लागत २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार छ भने प्रति मेगावट उत्पादन लागत लगभग १७ करोड ८२ लाख ८१ हजार रुपैयाँ छ।