काठमाडौं। कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वर्ष अगाडी बहुप्राविधिक धारका लागि जिल्लामा भौतिक संरचना निर्माण भएपनि पढाई भने सुरु हुन सकेको छैन। एक करोड बीस लाख खर्च गरेर भवन निर्माण भएपनि पढाइ सुरु नहुँदा राज्यको लगानी खेर गएको छ।
मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बहुप्राविधिक धार सञ्चालन गर्न भवन निर्माण गरिएपनि थप कार्यक्रम नआएको कारण हालसम्म पढाइ सुरु गर्न नसकेको बताए। उनले उक्त भवन इन्जिनियरी धारतर्फको पठनपाठन सुरु गर्न निर्माण गरिएको भएपनि उक्त प्राविधिक धार सञ्चालन गर्न अन्य कार्यक्रम नआएको कारण त्यतिकै रोकिएको बताए। कार्यक्रमका स्वरूप भवन निर्माण पछि बहुप्राविधिक धारको पठनपाठन गर्न सहयोग गर्ने रहेको थियो। तर भवन बाहेक कक्षा सञ्चालनका लागि अन्य कार्यक्रम नआउँदा कार्य अगाडी नबढेको हो।
सामाजिक विकास कार्यालयका सव इन्जिनियर धर्मराज बोहराले दुई वर्ष अगाडी बहुप्राविधिक धारका लागि एक करोड बीस लाख लागतमा चार ब्लक भवन निर्माण गरिएको बताए। कुल बजेटमा डिपिआर तयारी, प्रदेश सरकारको अनुदान र विद्यालय व्यवस्थापन समितिका जनश्रमदान समेत रहेको छ। ती भवनमा ११ वटा कोठा रहेका छन्। भवन निर्माणका लागि पाँच लाखको डिपिआर समेत निर्माण भएको थियो।
यसका लागि प्रदेश सरकारबाट ९५ लाख लगानी भएको छ भने बीस लाख रुपियाँ जनश्रमदानमा भवन निर्माण भएका हुन। भवन खाली भएपछि विद्यालयले कोरोनाको समयमा एउटा भवन सशस्त्र प्रहरी र अर्को भवन हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता आवासीय विद्यालयलाई भाडामा दिइएको थियो। भवन विद्यालय व्यवस्थापन समितिले निर्माण गरेको हो।
प्रदेशबाट अन्य कार्यक्रम नआएपछि त्यसअघि विद्यालयमा सञ्चालन हुँदै आएको सिटिभिटी अन्तर्गतको डिप्लोमा इन्जिनियरीङको पठन पाठन र विद्यार्थीहरूका लागि होस्टेल सञ्चालन गर्ने तयारी विद्यालयले गरेको छ। विद्यालयले हाल विद्यालयको दुई वटा कोठामा उक्त विषय अध्ययन भई रहेको जनाएको छ। एकातिर साँघुरोमा कक्षा सञ्चालन भई रहेको र अर्कोतर्फ बनेका भवन खाली रहेपछि त्यसको सदुपयोग गर्नेतर्फ विद्यालय लागेको हो। गोरखापत्रबाट