पर्सा। पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ ।
महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको हो।
सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरेको नगरप्रमुख राजेशमान सिंहले बताए। महानगरले गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शङ्कराचार्य द्वारसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरेको छ।
सडकको दुवैतर्फ निर्माण भएका घरको महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको प्रमाण लिइ ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा सम्पर्क राख्न सरोकारवालालाई आग्रह समेत गरिएको छ।