खोटाङ। खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ। सोमबार गाउँपालिकाका अध्यक्ष रवीप्रकाश राईले भवनको शिलान्यास गरेका हुन्।
स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सुरु गरेको छ। भवन निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए। ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी–सजीव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।