काठमाडौं। इलामको रोङ गाउँपालिकामा मिनि कभर्ड हल निर्माण गरिएको छ। ६३ लाख लागतमा उक्त कभर्ड हल निर्माण गरिएको हो।
गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा कभर्डहल निर्माण गरिएको हो। सो कभर्डहल निर्माणका लागि गाउँपालिकाको रु २५ लाख, संसदीय विकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयको रु आठ लाख लागत गरी जम्मा रु ६३ लाख रकम खर्च भएको गाउँपालिकाले जनाएको छ।
कभर्र्डहलमा ब्याटमिन्टन, टेबलटेनिस, मार्सलआर्टलगायतका खेल सञ्चालन तथा प्रशिक्षण हुने भएपछि सो क्षेत्रका खेलाडी हर्षित भएका छन्। कभर्ड हलसहित शौचालय र चेन्जिङ रुमको समेत निर्माण गरिएको छ।
सो क्षेत्र विशेष गरी कराते खेलका लागि उर्बर मानिन्छ। सो कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको मापदण्डमा केही खेल सञ्चालन गर्न सकिने बताइएको छ। रोङ गाउँपालिकाबाट खेल खेल्दै स्थानीय देश विदेशमा गएरसमेत विभिन्न खेल खेलिरहेका छन्।
सो कभर्डहललाई खेलकुदका कार्यक्रमसहित विभिन्न सभा सम्मेलन गर्नका लागिसमेत प्रयोग गर्न सक्नुपर्नेमा स्थानीय अगुवाको भनाइ छ।