काठमाडौं। पोखरा महानगरपालिकाले मुख्यबजार महेन्द्रपुलस्थित जीर्ण भवन डोजर लगाएर भत्काएको छ। महानगरले बिहीबार डोजर लगाएर २०५६ सालमा सार्वजनिक जग्गामा बनेको ग्यालरी र २०४८ सालतिर बनेको पोखरा सार्वजनिक पुस्तकालय भएको गरेर दुईवटा भवन भत्काउन सुरु गरेको हो।
उक्त ठाउँमा महानगरपालिकाले पार्क र सार्वजनिक शौचालय बनाउने योजना बनाएको छ। उक्त दुईवटा भवनमा ३५ वटा सटरमा फलफूल तरकारी, मासु, मोबाइललगायत पसल थिए। ३५ दिनअघि सूचना निकालेर त्यहाँबाट हट्न महानगरपालिकाले समय दिएको थियो।
दिएको समयावधिमा सबै व्यवसायी हटिसकेपछि मंगलबारदेखि महानगरपालिकाले दुईवटा भवन भत्काउन सुरु गरेको हो। उक्त भवनमा भाडामा दिएबापत महानगरले राजस्व उठाउन भने बाँकी छ।
जीर्ण भएको र अपाही ठाउँमा भएकाले आर्ट ग्यालरी र पुस्तकालय भएको भवन भत्काउने निर्णय २०७५ साल चैतमा मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकले गरेको थियो। तर, व्यवसायीले अटेर गर्दा र कोरोना संक्रमणको जोखिमले भत्काइएको थिएन। अहिले धनराज आचार्य मेयर भएपछि व्यवसायीलाई ३५ दिनको समय दिएर भत्काइएको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अवैध संरचना भत्काउन अघि बढेपछि देशभरका पालिकामा दबाब सिर्जना भएको छ। मंगलबार पत्रकारसँग कुरा गर्दै मेयर आचार्यले पोखरामा पनि महानगरले अवैध संरचनाको अभिलेखिकरण गरिरहेको बताए।