काठमाडौं। ४२ मेगावाटको माथिल्लो मोदी 'ए' जलविद्युत आयोजना निर्माणका लागि ग्लोबल टेण्डर आह्वान भएको छ। मोदी जलविद्युत कम्पनी लिमिटेडले बिहीबार एक सूचना निकालेर टेण्डर आह्वान गरेको हो।
आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी नदीमा निर्माण हुनेछ। सो टेण्डरमा अक्टोबर २३ सम्म आवेदन दिन सकिनेछ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्न लागिएको छ। यस्तो मोडलमा निर्माण गर्दा डिजाईनदेखि खरिद हुँदै कन्स्ट्रक्सनको काम कम्पनी आफैंले गर्नुपर्छ।
जग्गा अधिग्रहणको ९५ प्रतिशत काम सकिएको छ। पाँच प्रतिशत स्थानीयहरु बेलायत गएकाले अधिग्रहण ढिला भएको हो। आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माण भइसकेको छ भने हेडवर्क्ससम्म पुग्नका लागि साढे चार किमी सडक निर्माण गर्नुपर्नेछ।
कम्पनीका अनुसार आयोजनाको सुरुङमार्ग करिब ६ किमी हुनेछ। जसमा दुईवटा अडिट टनेलहरु रहनेछन्। सतही पावर हाउस हुनेछ। आयोजनामा ओपन सर्ज ट्यांक हुनेछ।
घान्द्रुक नजिकैको स्याउली बजारमा आयोजनाको पावर हाउस प्रस्ताव गरिएको छ। उत्पादित विद्युतलाई करिब साढे ११ किमी प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको न्यू मोदी सबस्टेसनमा जोडिनेछ। आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्ट भएको छ। विद्युत खरिद बिक्री सम्झौता (पीपीए) को सम्झौताका लागि विद्युत नियम आयोग पुगेको छ। नदी प्रवाहमा आधारित यो आयोजना निर्माणका लागि ९ अर्ब ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।