रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीमा निर्माणाधनि अवस्थामा रहेको गुम्बा तथा अध्ययन केन्द्रको भवन निर्माणमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको पाइएको छ। सो भवन तथा गुम्वा निर्माणमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले सरोकारवाला निकायलाई खवरदारी गरेका छन्।
गुम्वा तथा अध्ययन केन्द्र बनाउँदा प्रयोग गरिएको सिमेन्ट डल्ला परेको साथै वालुवा तथा अन्य सामाग्रीहरु पनि गुणस्तरहीन रहेको कारणले त्यस्ता निर्माण सामाग्री निर्माण स्थलबाट हटाउन आग्रह गर्दा निर्माण व्यवसायीले अटेर गरेको कारणले गर्दा गुणस्तरीय सामाग्री नल्याएसम्म निर्माण कार्य अगाडी बढ्न नदिने स्थानीयको अडान रहेको छ। गुम्वा तथा लामा गुरुहरुले अध्ययन गर्ने गराउने धार्मिक स्थल भएको कारणले गर्दा गुणस्तरीय निर्माण गर्नको लागि स्थानीयले बारम्बार खवरदारी गर्दै आएका छन्। त्यस्तै गाउँपालिकाले पनि संरचनाको गुणस्तरमा सम्झौता गर्न नसकिने भन्दै पटक–पटक निर्माण व्यवसायीलाई सचेत गराउँदै आएको थियो।
बारम्बार भन्दा पनि निर्माण व्यवसायीले नटेरेपछि गुणस्तरीय सामाग्री ल्याएपछि मात्र काम सुरु गर्ने गरी हाल गाउँपालिकाले काम रोकेको गाउँपालिकाको अध्यक्षले जानकारी दिएका छन्। सँस्कृति तथा पर्यटन मन्त्रालयको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारिमा करिब ३ करोड लागतमा गुम्वा तथा अध्ययन केन्द्र निर्माणको लागि पाँचपोखरी निर्माण सेवा प्रालिले ठेक्का पाएको थियो। सो भवन निर्माण गर्नको लागि प्रयोग भएको सिमेन्ट पानीले भिजेर डल्लो परेको हुनाले अव ल्याउने निर्माण सामाग्रीको सम्वन्धित निकायले गुणस्तर परिक्षण गरेपश्चात मात्र काम सुरुवात गर्ने गरी गाउँपालिकाले निर्माण कार्य स्थगित गरेको हो।