बारा। जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा करिब २१ करोड लागतमा अस्पताल निर्माण गर्न सुरु गरिएको छ। उपमहानगरले सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नति गर्दै ११ कठ्ठा जग्गामा १५ शैय्याको अस्पतालको निमार्ण गर्न सुरु गरेको हो।
संघीय सरकारको अनुदान अन्र्तगत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँ लागतमा २ वर्षभित्र सम्पन्न गर्नेगरी अस्पतालको काम सुरु भएको छ । विगत ५ वर्षको अवधीमा तत्कालिन जनप्रतिनिधिले उपमहानगर भित्र एउटै अस्पताल निमार्ण गर्न सकेका थिएन । उपमहानगरभित्र अस्पताल नहुदाँ प्रसुती सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयहरु वीरगञ्ज, हेटौडा, भरतपुर र काठमाडौंसम्म पुग्ने गर्दथे । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकतामा राखेर उपमहानगरवासीको हितमा काम गर्ने बताएका छन् ।
१५ शैय्याको अस्पताल निमार्णका लागि उपमहानगर र एच.टि.सि.निमार्ण सेवा काठमाडौँ बिच ठेक्का सम्झौता समेत भइसकेको छ। डिपिआर अनुसार अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भुईँ तल्लामा ओ.पि.डि., इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसुती गृह , दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने बताइएको छ।