बाँके। जिल्लाको जानकी गाउँपालिकामा सिकलसेल एनिमिया र थाल्सेमियाको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरिने भएको छ। जानकी गाउँपालिका– ३ नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो।
उक्त अस्पतालको सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले सिकलसेल थारू समुदायको मात्र समस्या नभएको बताए। सिकलसेल अधिकांश थारू समुदायमा देखिए पनि यो अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको प्रस्ट पारे। सिकलसेल अस्पताललाई मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रूपमा विकास गरिनुपर्नेमा उनको जोड छ।
उनले भने, ‘अहिले थारू समुदायमा मात्र सिकलसेल देखिएको छ । सिकलिङ गर्ने हो भने अन्य समुदायमा पनि देखिन सक्छ। यो अस्पताललाई सिकलसेलको उपचार गर्ने अस्पतालको रूपमा मात्र विकास गर्न हुँदैन। सिकलसेलका बिरामीलाई विशेष सेवा दिए पनि अन्य रोगको पनि उपचार गर्ने थलोको रूपमा विकास गर्न जरुरी छ।’
उनले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न सहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले थारू समुदायका लागि सिकलसेल अस्पताल महत्वपूर्ण भएको बताउँदै यसको दायित्व सरकारले लिनुपर्ने बताए।