सिमकोट। जिल्ला अस्पताल हाताभित्र ५० शय्याको नयाँ अस्पताल भवन निर्माण हुने भएको छ। उक्त अस्पतालको तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको हो।
अस्पताल भवन निर्माण कार्यका लागि ले–आउट गर्ने कार्य सुुरु भएको छ। सो कार्यका लागि जुम्लाबाट एक टोली सिमकोट आएर सुरु गरेको हो।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रेरा क्याराभान बुद्ध हिमाली जेभी निर्माण कम्पनीसँग वैशाखमा सम्झौता भई निर्माण सुरु गरिएको हो।
अस्पतालको सम्पूर्ण निर्माण ०८१ पुस ३० गते सम्पन्न गर्नुपर्ने छ। यसका लागि कार्यालयले निर्माण कम्पनीसँग २१ करोड २० लाख ८४ हजार ८०३ रुपैयाँ लागत लाग्ने गरी सम्झौता गरेको छ। यसका लागि कार्यालयले २१ करोड ४४ लाख बजेट विनियोजित गरेकोमा घटी घटाउमा उक्त निर्माण कम्पनीले कामको जिम्मा पाएको हो।
अस्पतालका लागि एउटा दुईतले र ६ वटा एकतले गरी सात वटा नयाँ भवन निर्माण हुनेछन्।
निर्माण कम्पनीले तीन वर्षमा काम सम्पन्न गर्नुपर्ने भए पनि डेढ वर्षमा निर्माण पूरा गरेर बोनस खाने तयारी रहेको जनाएको छ। भवनको जग खल्ने कार्य सुरु भएको र निर्माण सामग्री जम्मा गर्ने कार्य सुरु भइसकेको छ। अब चाँडै भवनको शिलान्यास गर्ने कार्य पनि गरिने भएको छ।