कास्की । पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट सार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने ल्यान्डफिल साइट महानगरको ५२औं कार्यपालिका बैठकले पोखरा वडा नम्बर १६ र २० को पश्मराङमा सार्ने निर्णय गरेको हो ।
विमानस्थल निर्माण आयोजनाले महानगरलाई पत्र लेखेर ल्यान्डफिल सारिदिन आग्रह गरेको दुई वर्षपछि बल्ल ल्यान्डफिल सार्ने निर्णय महानगरले गरेको हो।
जग्गाको खोजी गर्न वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको संयोजकत्वमा गठन भएको कार्यदलले दिएको सिफारिसकै आधारमा जग्गा छनोट गरिएको हो । कार्यपालिका बैठकले साईट निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
महानगरले साइट सार्न लागेको स्थानमा ६ भन्दा बढी खानेपानीका मुहान छन् । काहुँ र भलाम क्षेत्रका नागरिकले यहीँको पानी पिउने गरेकाले यहाँका स्थानीय र जनप्रतिनिधिले भने ल्यान्डफिल ल्याउने महानगरको निर्णयको विरोध गरेका छन् । आफूहरुसँग समन्वय नगरि खानेपानीको मुहान भएको ठाउँमा ल्यान्डफिल सारिनु राम्रो नहुने स्थानीयको गुनासो छ ।
महानगरले भने ल्यान्डफिल बनाएपछि पानीको श्रोत त्यो भन्दा माथि खोज्ने बताएको छ । स्थानीयसँग समन्वय गर्न वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा ९ का वडाध्यक्ष रामराज लामिछाने, १३ का अध्यक्ष लेखबहादुर तामाङ, ११ का अध्यक्ष मोहनप्रसाद बास्तोला सदस्य रहेको समिति बनेको छ । समितिले एक साताभित्र समन्वय र सहजीकरण गर्ने छ ।
विमानस्थलबाट उडान शुरु हुनुअघि ल्यान्डफिल हटाइसक्नु पर्ने भएकाले पनि जतिसक्दो ल्यान्डफिल सार्ने काम चाँडो गर्ने गरि महानगरले प्रकृया अगाडि बढाएको छ ।