काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिका–१३ कुप्रीडाँडामा बिजुली बत्ती बलेको छ। कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो।
बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन्। वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ।
दुधौली नगरपालिकाले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताएको छ। विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन्।
चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो। भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको बताइएको छ। नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ।