काठमाडौं। दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा आएको हो।
नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ ।
योसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत् आयोजनाको ७२ मेगावाट विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।
प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ। गत वर्षको बाढीले क्षति पुर्याएको एउटा टावर निर्माणको अन्तिम चरणमा रहेको छ।
करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो ।