दोलखा । दोलखामा खिम्ती–२ जलविद्युतको सिभिल संरचना निर्माण शुरु गरिएको छ । दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिका तथा रामेछापको गोकुलगङगा गाउँपालिकाको सिमाना भएर बग्ने खिम्ती खोलामा ४८.५ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माण शुरु गरिएको हो ।
गत २०७४ सालबाटै आयोजना निर्माण शुरु गरी २०७८ सालमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढे पनि निर्माणका लागि स्रोतको निश्चितता नहुँदा ढिलाइ भएको थियो ।
पहिलो चरणमा सिभिल संरचनाको काम अन्तर्गत बाँध निर्माण, इनटेक, बालुवा थिग्रयाउने पोखरी, टनेल निर्माण, पेनस्टक र विद्युत् गृह निर्माणको काम भएको छ । जिरी नगरपालिका–८ आहालेभन्दा तल्लो क्षेत्रदेखि गोकुलगङगा गाउँपालिका–३ धारापानी क्षेत्रमा ड्याम निर्माण शुरु भएको छ । यहाँ बाँध बनाएर करिब आठ किलोमिटर लामो सुरुङ मार्ग निर्माणको काम पनि शुरु भइसकेको छ । तामाकोसी गाउँपालिका–७ पलाँतेमा विद्युत् गृह पनि निर्माण थालनी भएको छ ।
गत २०७४ सालमा चिनियाँ कम्पनीले आयोजना निर्माण गर्ने र ९० प्रतिशत लगानी गर्ने सम्झौता भई पिपुल्स इनर्जीले चिनियाँ कम्पनी सिडब्लु र टिडब्लु कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । सो कम्पनीले लगानी नै नगरी छोडेपछि आयोजना निर्माणको काम अघि नबढेको हो । अहिले सानीमा बैंकको अगुवाइमा १० वटा बैंकहरुले आयोजना निर्माणमा लगानी गर्ने भएका छन् ।
८ अर्ब ६४ करोड लगानी हुने आोजनजामा बैंकहरुको ७० प्रतिशत र उपभोक्ताहरुको ३० प्रतिशत लगानी हुने बताइएको छ ।