झापा। बिर्तामोड नगरपालिकाले नगर अस्पतालको भवन निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता अवधि सकिँदा समेत काम नसकिएको भन्दै नगरपालिकाले धुलिखेल निर्माण सेवालाई कारबाही गर्ने चेतावनी दिएको हो।
नगरपालिकाले निर्माण कम्पनीलाई पत्राचार गरिसकेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले समयमै भवन निर्माण सम्पन्न नगरेकाले निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरेको जानकारी दिए ।
तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।
निर्माण कम्पनीले विसं २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रु पाँच करोड ५० लाख सात हजार सात सय ६० मा ठेक्का सम्झौता गरेको थियो ।