काठमाडौं। रामपुर नगरपालिका–५ स्थित रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण गर्न सुरु गरिएको छ। लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल निर्माण गर्न सुरु गरिएको हो।
सङ्घीय सरकारको रु २५ लाख सहयोगमा निर्माण हुने भवन आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण अगाडि बढाइएको लक्ष्मीनारायण गुठी सञ्चालक समितिले जनाएको छ।
धर्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रामघाटमा ज्येष्ठ नागरिक सभाहल आवश्यक रहेको हुँदा निर्माणकार्य सकिएपश्चात ज्येष्ठ नागरिकलाई घरबाट रामघाटसम्म आवतजावतका निम्ति यातायातको व्यवस्थापन गरिदिने नगरपालिकाले जनाएको छ।
भवन निर्माण सकिएपछि दैनिक भजनकीर्तन, प्रवचन गर्नलाई सहज हुनेछ। यहाँ बन्न लागेको ज्येष्ठ नागरिक सभाहल धार्मिक तथा विभिन्न कार्यक्रमका निम्ति प्रयोग गरिनेछ। करिब तीन सय मानिस अट्ने क्षमताको सभाहल बन्नेछ।