बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन्।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजना गरिएको ६९औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनुपर्ने बताएका हुन्।
उनले औद्योगिक क्षेत्रमा उद्योगहरूलाई लिज सम्झौताको समयावधि पनि बढाउनुपर्ने बताए। उनले बैंकको व्याजदर सय प्रतिशत भन्दा बढी भएको बताउँदै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताए।
संघको साधारण सभाको अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ।