काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायात सरकारको प्राथमिकतामा रहेको बताएकी छन् । आज आठ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन्।
मन्त्री भुसालले नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन भइसकेको बताउँदै देशमा विद्युतीय सवारी साधनसहित विद्युतीय सामानहरू बढाउने बताइन् । उनले विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताइन् ।
विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकाका सरकारी कार्यालयमा र उपत्यकामा चल्ने सबै सवारी साधनहरू विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको समेत मन्त्री भुसालले जानकारी दिएकी छन् ।