काठमाडौं। काठमाडौँ महानगरपालिकाले हिजो एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ। अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो।
उक्त कार्यअन्तर्गत हिजो कामपा र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोलालाई मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ। त्यसैगरी सडक मिचेर निर्माण गरिएका पर्खाललाई पनि डोजर लगाएर भत्काएको कामपा नगर प्रहरीले जनाएको छ। त्यस्तै माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भ¥याङ र खुसिबुँमा पनि अवैध रुपमा निर्माण गरिएको छ टहरा भत्काइएको छ।
हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ। ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाको तयारी हो। कामपाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भएअनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन्।