कञ्चनपुर। राष्ट्रिय समाचार समिति कञ्चनपुरको भवन निर्माण सम्पन्न भएको छ। नवनिर्मित भवनको आर्थिक मामिला मन्त्री प्रकाश रावलले उदघाटन गरेका छन्।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले एक कार्यक्रमका बीच बुधवार राष्ट्रिय समाचार समिति कञ्चनपुरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
राससका कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भवन उद्घाटन गर्दै आर्थिक मामिला मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा भवन निर्माण भएको जानकारी दिए। उनले प्रदेश सरकारले पत्रकारहरुको क्षमता वृद्धि लगायतका विभिन्न कार्यमा सहयोग गर्दै आएको बताए।
यसैगरी राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भवन भन्ने बित्तिकै एउटा घर मात्र नभएर भावना पनि जोडिएको हुने हुँदा देशको एउटा मात्र सरकारी समाचार संस्था रासस कञ्चनपुरको भवन निर्माण हुनु सुखद् भएको बताए ।
प्रदेश सरकारको सहयोगबाट भवन निर्माण गर्न सहयोग भएकोमा रासस कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहले सहयोगी हातहरुलाई धन्यवाद दिए।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट प्राप्त रकम मध्ये २६ लाख ५० हजारमा चार कोठे मुख्य भवन डिके निर्माण सेवाले निर्माण गरेको हो भने पर्खाल तथा अन्य संरचनाहरु कोटेसनमार्फत् निर्माण गरिएको छ।