झापा। दमक नगरपालिकामा गत तीन महिनादेखि फोहोरबाट उत्पादित ग्यास खेर गइरहेको छ । नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट उत्पादन गरिरहेको दैनिक १ हजार ६ सय केजी बायोग्यास गत असारदेखि खेर गइरहेको हो।
दमकमा नेक्स्टले २०७६ चैतदेखि निर्माण थालेको प्लान्ट गत असार पहिलो सातादेखि सञ्चालनमा आएको छ। नगर क्षेत्रबाट दैनिक २० टन फोहोर निस्कने नगरपालिकाको वातावरण शाखाले जनाएको छ । त्यसमा करिब १४ टन कुहिने फोहोर हुन्छ । नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा फोहोरबाट ग्यास उत्पादनको प्लान्ट राखिएको हो।
कुहिने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिन्छ । उक्त प्लान्टमा कुहिने फोहोर दैनिक ३० टन प्रशोधन गर्न सक्ने क्षमता हो । पूर्ण क्षमतामा चल्दा २२ सय केजी बायोग्यास, १० टन ठोस मल र ७ टन झोल मल निकाल्न सकिन्छ ।
उत्पादित बायोग्यास, ठोस मल र झोल मल उपभोग गर्न नसक्दा खेर गइरहेको हो ।दैनिक उत्पादन हुने बायोग्यास जलाएर नष्ट गरिरहेको कम्पनीले जनाएको छ। पाइपलाइनमार्फत घरघरमा पुर्याउन सक्दा १५ सय घरमा चुलो बाल्न सक्ने ग्यास तीन महिनादेखि खेर गइरहेको कम्पनीले बताएको छ।