रसुवा। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको भौतिक प्रगति हालसम्म ३५ प्रतिशत मात्र भएको छ। गत वैशाखमै निर्माण पूरा गर्नुपर्ने बन्दरगाहको भौतिक प्रगति अहिलेसम्म ३५ प्रतिशत मात्र पूरा भएको हो।
३० महिनामा सक्ने लक्ष्यसहित ०७६ मंसिर ४ मा बन्दरगाहको शिलान्यास भएको थियो । हालसम्म भोटेकोसी नदी किनारमा रिटेनिङ वाल लगाउने र माटो ताछ्ने काम मात्र भएको छ । बन्दरगाहको बाँकी काम ठप्प छ । निर्माणस्थलमा अहिले न त कामदार देखिन्छन् न त निर्माण व्यवसायी नै। कुनै जानकारी नै नदिई काम छाडेर चिनियाँ कम्पनीका प्रतिनिधि र कामदार चीन फर्किएको बताइएको छ।
०७६ मंसिर ४ मा वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेसनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बतको कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले बन्दरगाहको शिलान्यास गरेका थिए । तर, ६ महिनाअघि नै इन्टरमोडल यातायात विकास समिति र तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच निर्माण सम्झौता भएको थियो । बन्दरगाह रसुवागढी नाकाबाट २.५ किमि वर टिमुरेमा निर्माण भइरहेको छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ । नेपाल– चीन सम्झौताअनुसार चिनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ ।
बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन छ । बन्दरगाह आधुनिक, सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको हुनेछ ।