धनगढी। साढे ३६ अर्ब लागत अनुमान गरिएको बझाङको चैनपुर–सेती जलविद्युत आयोजना अध्ययनमा मात्र सीमित भएको छ। २ सय १० मेगावाटको आयोजनाको प्रारम्भिक अध्ययन यसअघि नै भइसकेको छ। ४ वर्ष लगाएर सम्भाव्यता अध्ययन गरिएको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन।
आयोजनाको दोस्रो चरणको अध्ययन अघि बढाइएको दाबी गरिए पनि खासै काम हुन भने सकेको छैन। बझाङको साइपाल गाउँपालिकाको काँडामा बाँध बाँधेर तलकोट गाउँपालिकामा आयोजना निर्माण गर्न नेपाल विद्युत प्राधिकरणले प्राथमिकतामा राखेको भएपनि अध्ययनबाहेक केही काम हुन सकेको छैन।
५ वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको सो आयोजना अध्ययनमा मात्र सीमित भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। जलविद्युत आयोजना चैनपुर–सेतीका अनुसार विस्तृत इन्जिनियरिङ ढाँचा तयार, खरिद र निर्माण इपिसी मोडलमा निर्माण गर्ने गरी पहुँच सडक निर्माण, जग्गा अधिग्रहणलगायत अघि बढेको छ।
अन्य आयोजनाको तुलनामा थोरै लागतमा उच्च प्रतिफल दिने आयोजना भनेकै चैनपुर–सेती जलविद्युत हो। अहिले दोस्रो चरणको अध्ययन भइरहेको आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए।
आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा सानो बस्ती भएकाले आयोजना निर्माणका लागि २ सय ३० रोपनी निजी जग्गा आवश्यक रहेको उनले बताए।आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत् विकास विभागमार्फत् स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकिएको छ।