काठमाडौं । संखुवासभाको भोट खोला र मकालु गाउँपालिकामा पर्ने अरुण–४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणले पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिएको हो ।
विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । लाइसेन्सका लागि विद्युत् विभागमा २९ भदौमा आवेदन दिएको प्राधिकरणले लाइसेन्स सोमबार प्राप्त गरेको हो ।
अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युतगृह भन्दा तल्लो भागमा पर्छ । अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १५ सय ५१ मेगावाटका दुईवटा आयोजनाहरू एकसाथ अगाडि बढाउनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अरुण–४ को लाइसेन्स प्राधिकरणले पाउने अत्यन्तै खुसीको कुरा भएको भन्दै माथिल्लो अरुण र अरुण–४ गरी एक हजार पाँच सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत् कायक्रम’अन्तर्गत अगाडि बढाइने बताए ।