सुर्खेत । सुर्खेत मेडिकल कलेज स्थापना गर्न पूर्वाधार निर्माणका कार्यक्रम स्वीकृत भएका छन् । मेडिकल कलेज स्थापनाको लागि यसै साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएको हो ।
मन्त्रालयले अनुमति दिएसँगै कलेज स्थापनाको बाटो खुलेको छ । अब पूर्वाधार निर्माण कार्य शुरु गर्ने बताइएको छ । पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण, वातावरणीय प्रभात मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिने छ । यी सबै कामको लागि टेन्डर प्रक्रिया अगाडि बढाउने तयारी आयोजनाले गरेको छ ।
प्रत्येक प्रदेशमा एक–एक वटा मेडिकल कलेज स्थापना गर्ने केन्द्र सरकारको रणनीति अनुसार सुर्खेतमा तीन वर्षदेखि मेडिकल कलेज स्थापनाको कसरत हुँदै आएको छ ।
मेडिकल कलेज स्थापनाका लागि शुरुको वर्ष आयोजनाले काठमाडौंबाट पूर्वाधार निर्माणका लागि प्रक्रिया शुरु गरेको थियो । तर काठमाडौंबाट सुर्खेतका सरोकारवाला र स्थानीयसँग समन्वय गर्न असहज भएपछि आयोजनाले २०७६ जेठदेखि सुर्खेतमै कार्यालय राखेर काम गर्दै आएको छ ।