पोखरा। पोखरा महानगरपालिकाले अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्स्चर नियन्त्रणमा लिएको छ। मापदण्डविपरीतका संरचना निर्माणमा सेवा नदिन निर्माण व्यवसायीलाई निर्देशन दिएको अर्को दिन नै निर्देशन विपरीत काम गरेको पाएपछि महानगरले ग१क ४८२२ नं. को रेडी मिक्स्चर नियन्त्रणमा लिएको हो।
फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न निर्देशन दिइएको थियो। महानगरको निर्देशन विपरीत पोखरा ६ खहरेस्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलान भएपछि त्यहाँ प्रयोग भएको मिक्स्चर महानगरले नियन्त्रणमा लिएको हो।
शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयं उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घरधनीहरूलाई जानकारी गराएका थिए । तर, त्यसको भोलिपल्ट नै स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी घरको तेस्रो तला ढलान गरेका छन् ।
महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि महानगरका प्रहरीहरूले सो स्थानमा पुगी फेवा रेडी मिक्स्चर प्रा.लिको मिक्स्चर सामानसहित नियन्त्रणमा लिएका हुन् ।