दाङ। दाङ लमहीस्थित ट्रमा सेन्टर निर्माणको काम धमाधम भइरहेको छ। लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा राखेको ट्रमा सेन्टर निर्माणको जग निर्माण गरी ‘स्ट्रक्चर’ बनाउन सुरु गरिएको हो।
२९ करोड २३ लाख १७ हजार लगानीमा ट्रमा सेन्टरको भवन निर्माण गर्ने काम लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ। आयोजना निर्माणका लागि २०७७ साल चैत २४ गते सम्झौता भएको थियो। २०७८ वैशाख ३ गतेबाट काम सुरु गरेको कम्पनीले आगामी वर्ष असार ३ गतेभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ।
ट्रमा सेन्टर निर्माणसँगै पूर्वपश्चिम राजमार्ग क्षेत्रमा हुने सवारीलगायत विभिन्न दुर्घटनामा परेका सर्वसाधारणको उपचारमा सहज हुने अपेक्षा गरिएको छ। विभिन्न दुर्घटनामा परेर चोटपटक लागेर, शरीरका अङ्गहरू भाँचिन पुग्दा समयमा उपचार नपाउने समस्या छ। ट्रमा सेन्टरको मुख्य भवन चार तलाको हुनेछ। मुख्य भवनमा इमर्जेन्सी वार्डदेखि शल्यक्रिया कक्ष, बिरामी भर्ना गर्ने वार्डहरू हुनेछन्।