काठमाडौँ। राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी गराएको छ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवनमा क्षतिपुर्याएको थियो। त्यसपश्चात भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा पुस्तकालय भवन बनाउने निर्णय गरी विस्तृत परियोजनाको काम अघि बढाउन स्वीकृति समेत दिइसकेको छ। जमलमा रहेको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुने भएको छ।
यसअघि केपी ओली नेतृत्वको सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन जमलमै निर्माण गर्ने निर्णय गरेको थियो। तर २०७७ साउन ५ गते सोही नेतृत्वको सरकारले अर्को निर्णय नभएसम्म जमलको जग्गामा पुस्तकालयको भवन निर्माण नगर्ने निर्णय गरेपछि काम रोकिएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्ने योजना अन्तर्गत त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सारी राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो।