उदयपुर। त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसको पुस्तकालय भवन शिलन्यास गरिएको छ। प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले भवनको शिलन्यास गरेका हुन्।
भवनको शिलन्यास गर्दै मन्त्री राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन्। उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश्यकता भनेका प्राविधिक शिक्षा रहेको बताए ।
मन्त्री राईले शिक्षा जागिर खाने खालको भन्दा पनि स्वारोजगार बन्ने खालको हुनुपर्ने बताए। अहिले स्वरोजगार बनाउने खालको शिक्षा देशलाई आवश्यक रहेको उनले बताए ।
शिक्षाले पढाउने भन्दा पनि सिकाउने वा प्रयोगमा आउने शिक्षामा जोड दिनु पर्ने बताए । गुणस्तरीय शिक्षाले नै समृद्ध बनाउने भएकाले शिक्षाको नीतिगत रुपमा सुधार गर्नु आवश्यक रहेको मन्त्रीले औल्याए । त्यसका लागि संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाईले प्रदेश शिक्षा ऐन तथा निति निर्माणमा पनि ढिलाई भएको बताए । उनले भने, ‘उदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने भएकाले त्यसका लागि प्रदेश सरकार लाग्नेछ ।’
त्रियुगा नगरपालिका निवर्तमान नगर प्रमुख तथा बरुवा क्याम्पसका अध्यक्ष बलदेव चौधरीले क्याम्पसलाई नमूना क्याम्पसको रुपमा विकास गर्ने योजना रहेको बताए।