काठमाडौं। आज देशभर वर्षाको सम्भावना छ भने सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ । राति सुदूरपश्चिम र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ।
औसतमा मनसुन असोज २ सम्ममा बाहिरिने गर्छ। अघिल्लो वर्ष बाहेकका विगतका वर्षहरुमा यस बेलासम्म मनसुन बारिहि सक्थ्यो। यस वर्ष मनसुन साधारण मितिभन्दा एक हप्ता अघि नै अर्थात जुन २२ मै प्रवेश गरेको थियो भने बाहिरिन पनि ढिलो हुने अनुमान गरिएको छ। यसपालिको साधारणतया मनसुन सकिने मिति असोज १६ गते हो। तर अहिले पनि दिनहुँजसो पानी परिरहेको छ। कतै हल्का वर्षा त कतै भारी वर्षा नै भइरहेको छ। मनसुनको यो सक्रियता हेर्दा अझै केही दिन मनसुन कायम रहने देखिएको महाशाखाले जनाएको छ।
मनसुन भारतको राजस्थानतिरबाट हटेर नेपालको पश्चिमबाट हट्दै हट्दै आउँछ। महाशाखाका अनुसार राजस्थानमा आज भोलिमै हट्नेछ भने त्यो क्रम बिस्तारै नेपालमा आउँछ । र नेपालबाट फुलपातीको वरपरसम्ममा मनसुन हट्ने अनुमान गरिएको छ।
अघिल्लो वर्ष पनि दशैंकै आसपासमा भारतमा सकिएको मनसुन केही दिनपछि नेपालमा सकिएको थियो। सोही अनुसार यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म मनसुन पुग्ने देखिएको हो। विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ। मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ।
नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ। केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ। नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको छ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ। यसैगरी प्रि मनसुनको समय मार्चदेखि मेसम्ममा करिब १२, मनसुनपछि अक्टोबर र नोभेम्बर चार र हिउँद् डिसेम्बरदेखि फेब्रुअरी तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ।
नेपालमा मनसुन सुरु हुनु भनेको निर्माण व्यवसायीका लागि ‘होलिडे’ जस्तै हो। मनसुन सुरु भएसँगै निर्माणका अधिकांश काम प्रभावित हुन्छन्। बजेट विनियोजन हुने र ठेक्का लाग्ने मुख्य समयमा नै मनसुन पर्दा मारमा पर्ने गरेका निर्माण व्यवसायीलाई मनसुन लम्बिने पिरले सँधै सताउँछ। मनसुन लम्बिँदा अधिकांश आयोजनाको काम पनि प्रभावित हुने गर्छ। यस वर्ष सँधै भन्दा एक हप्ता अघिबाट सुरु भएको मनसुन अझै बाहिरिने छाँटकाँट छैन। पछिल्लो समय मनसुन बाहिरिने समय लम्बिन थालेको देखिन्छ। हरेक वर्ष नेपालमा निर्माण आयोजनाहरु समयमा सम्पन्न नहुने अनेक कारण मध्ये एउटा कारण नेपालमा लामो समय हुने मनसुन र यसबीचमा पनि काम गर्न सक्ने प्रविधिको उपयोग गर्न नसक्नु हो।