काठमाडौं । नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले दक्षिण एसियामा विद्युत व्यापार गर्न यसलाई भूराजनीतिबाट अलग गर्नुपर्ने बताएका छन् ।
यूएसएडको ऊर्जा एकीकरण कार्यक्रमका लागि दक्षिण एसियाली अभियान (सारी) ले यस क्षेत्रमा अन्तरदेशीय व्यापार र ऊर्जा सुरक्षाका लागि दक्षिण एसियामा क्षेत्रीय ऊर्जा बजार स्थापना विषयक मंगलबार भएको भर्चुअल अन्तरकृयामा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।
उनले विद्युत व्यापारलाई भूराजनीतिबाट अलग गरे मात्र दक्षिण एसियाली राष्ट्रबीच विद्युत व्यापार हुने बताउँदै आर्थिक र प्राविधिक रूपमा भने विद्युत व्यापार सम्भव भएको जानकारी दिए ।
पछिल्लो समयमा नेपालले भारतलाई विद्युत व्यापारका लागि प्रयास गरे पनि सहमति आउन नसकी वर्षा सयमा उत्पादन हुने बिजुली खेर जाने गरेको भन्दै उनले एक महिनापछि नेपाल सुख्खा याममा प्रवेश गरेर विद्युत आयातमा केन्द्रित हुनुपर्ने बताए ।
नेपालमा जुनसुकै उत्पादकले विद्युत उत्पादन गरे पनि निर्वाध रूपमा बिक्री गर्न पाउने गरी अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा भारतले संशोधन गर्नुपर्ने र यसमा कुनै अवरोध हुन नहुने उनको भनाइ छ ।