काठमाडौं । आगामी मंसिर एक गतेदेखि लागू हुने गरी विद्युत महशुल दर घटेको छ । बुधबार पत्रकार सम्मेलन मार्फत विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको जानकारी दिएको हो।
आयोगले नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा नयाँ महशुल दर तोकेको छ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क छुट गरिएको छ भने न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिरे पुग्ने भएको छ ।
मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ ।
आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्म गरि विभिन्न स्ल्याब कायम गरेको छ । महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको जनाइएको छ भने १०१ युनिट भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म महसुल कम भएको छ ।
त्यसैगरी सिँचाइका ग्राहकले ८० प्रतिशतसम्म महसुल छुट पाउने आयोगले जनाएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ तोकिएको छ ।