काठमाडौं। अतिविपन्न दलित, गरिब, असहाय र अपाङ्गता भएका परिवारका लागि घर निर्माण हुने भएको छ। उक्त परिवारहरुका लागि २४ घर निर्माण हुने भएको हो।
शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडानं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गरेका छन्। उनले आवासका कारण कसैले दुख भोग्न नहुने बताए। हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरुआत गरिएको बताइएको छ।
नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि सहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुख हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको रु ४० लाख, वडानं २ कार्यालयबाट रु १५ लाख र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको रु ५५ लाख गरी कूल रु एक करोड १० लाख खर्च व्यहोरिएको छ।
दलित हरुवाचरुवाका लागि सामुदायिक आवास मोडेलको १४ घर र अतिविपन्न, गरिव, असहाय, असुरक्षित र अपाङ्गगता भएको १० परिवारका लागि हिल्टी मोडलको घर गरी २४ वटा घर निर्माण गरिने भएको छ।