काठमाडौं। गुल्मीको चन्द्रकोट गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। सो भवन डेढ करोड लागतमा निर्माण गरिएको हो।
गाउँपालिका–७ रूपाकोटमा १ करोड ५७ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।
निर्माण सम्पन्न स्वास्थ्यचौकी भवन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले उद्घाटन गरे। रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतीराज भण्डारी र तारानाथ भण्डारीले निःशुल्क प्रदान गरेको जग्गामा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो। भण्डारी दाजुभाइले ७ लाखमा ५ रोपनी जग्गा किनेर स्वास्थ्यचौकीलाई निःशुल्क प्रदान गरेका हुन्।
स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै गाउँपालिकाका वर्तमान अध्यक्ष केसीले जग्गादातालाई धन्यवाद दिए। नयाँ भवनबाट प्रदान गरिने सेवाहरू गुणस्तरीय बन्नेसमेत बिश्वास गरिएको छ।
जग्गादाता भण्डारी दाजुभाइले स्वास्थ्यचौकीमा ल्याब सञ्चालन गर्न पनि सहयोग गर्ने गाउँपालिकाले जनाएको छ। भवनको ४ फागुन २०७७ मा तत्कालीन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले शिलान्यास गरेका थिए। स्वास्थ्यचौकीको भवन डीएनडी पुष्पाञ्जली जेभीले १९ माघ २०७७ मा सम्झौता गरी १ माघ २०७८ मा निर्माण सम्पन्न गरेको थियो।