मोरङ। जिल्लाको बेलबारीमा २ करोड २९ लाख लागतमा नयाँ प्रहरी भवन निर्माण गरिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका लागि दुई करोड २९ लाख १३ हजार दुई सय ७६ रुपैयाँ लागतमा नयाँ भवन निर्माण गरिएको हो।
सुविधा सम्पन्न भवन साढे दुई तलाको छ। भवनमा शौचालयसहितको थुनुवा कक्ष दुईवटा, कार्यालय प्रमुखको कक्ष, मिटिङ हल, भण्डार, सञ्चार, निवास छन्। शौचालय र बाथरुम तीनवटा छन्।
भवनमा शौचालय र बाथरुमबाहेक १० वटा कोठा छन्। नवनिर्मित भवनको मंगलबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले उद्घाटन गरेका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैँमा असुरक्षित रहन नहुने बताए। आफू सुरक्षित भए मात्रै प्रहरीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने दाहालको भनाइ छ। सरकारले प्रहरीको गाँस, बास र कपासमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ।
प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले भौतिक सुविधा सम्पन्न संरचनाले २४ घण्टा नै ड्युटीमा खटिने प्रहरीको मनोबल बढाउने बताए। कार्यक्षेत्रमा हौशला प्रदान हुँदा प्रहरीको काम कारबाही चुस्त, दुरुस्त हुने उनको भनाइ छ।