बुटवल। बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ।
बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा दुई सय बेड थप गरिने भएको हो।
एसोसिएसन अफ मेडिकल डक्टर अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो ।
पचास शय्याबाट सुरु भएको उक्त अस्पताल हाल सय शय्यामा सञ्चालन गरिएको छ ।
अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई तीन सय बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए ।
अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए । उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताए ।