लमजुङ । मस्र्याङदी गाउँपालिकामा निर्माणधीन न्यादी जलविद्युत आयोजना निर्माणको काम ९९ प्रतिशत सकिएको छ । मस्र्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुले बीचमा बग्ने ङादी खोलामा निर्माणाधीन आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सकिएको हो ।
आयोजनाले आगामी पुस महिनाबाट विद्युत उत्पादन थाल्ने भएको आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाले बताए । पछिल्लो समय नोभेम्बरबाट उत्पादन थालिने तालिका रहेपनि प्रशारण लाइनको काम नसकिएकाले डिसेम्बरको अन्तिम वा जनवरीको पहिलो साताबाट उत्पादन सुरु गर्ने तालिका रहेको प्रशासकीय अधिकृत गड्तौलाले जानकारी दिए ।
आयोजनाको पावरहाउस, ड्यामसाइड, हेडवक्र्सको पानीको बहाव, गेटलगायतको आन्तरिक परीक्षण भइरहेको छ । यसको परीक्षण सफल भएको प्रमाणित गर्नका लागि विज्ञ आउनुपर्ने हुन्छ । उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आएको विज्ञले परीक्षण सफल भएको प्रमाणित गरेपछि मात्र परीक्षण प्रसारण सुरु गरिने छ । आन्तरिक परीक्षणको काम अन्तिम चरणमा पुगेकाले परीक्षण प्रशारणका लागि विज्ञ टिमलाई बोलाउने तयारी भइरहेको र उनीहरु आएपछि तुरुन्त परीक्षण हुने गड्तौलाले बताए।