सिरहा। गोलबजार नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माण गर्ने भएको छ। सो नगरपालिकाले आफ्नै स्थानीय स्तरमा सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल भवन निर्माण गर्न लागेको हो। नगरपालिकाले सम्पुर्ण नगरवासीहरुलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरी अस्पताल भवन निर्माण गर्ने योजना अगाडी बढाएको हो।
सो नगरपालिकामा अस्पतालको अभावमा बिरामीलाई सेवा प्रदान गर्दा निकै समस्या हुने गरेको थियो। सुविधासम्पन्न अस्पताल भवन निर्माण भएपछि विरामीहरुलाई स्तरीय सेवा प्रदान गर्न सहज हुने कुरा गोलबजार नगरपालिकाले जनाएको छ। नगरपालिकाले उक्त भवन निर्माणको लागि ११ करोड भन्दा बढी लागतमा रबिना–ओम गणेशाया जेभीलाई ठेक्का दिएको जानकारी दिएको छ। उक्त निर्माण कम्पनीले तोकिएको समयमा नै अस्पताल भवन निर्माण कार्य सक्ने सर्तको साथ कामको जिम्मेवारी लिएको छ।
अस्पताल भवन निर्माण भएपछि गोलबजार नगरपालिकाको मात्र नभएर सिरहा जिल्लाकै विकासमा टेवा पुग्ने छ। त्यस्तै अस्पताल निर्माण भएपछि स्थानीयवासीले समयमै स्वास्थ्य सेवा पाउने भन्दै हर्ष व्यक्त गरेका छन्।