सिन्धुपाल्चोक। तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय निजी क्षेत्रबाट सञ्चालनमा आएको छ। ५ वर्षका लागि यो सुक्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्स प्रालिलाई दिइएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिले र ट्रान्स सिल्कबीच गत भदौ २९ गते बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान गर्ने सम्बन्धी सम्झौता भएको थियो ।
ट्रान्स सिल्कले बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई ५ वर्षमा ११ करोड ७० लाख रुपैयाँ बुझाउनेछ । बन्दरगाह सञ्चालन, सरसफाइ, गोदाम व्यवस्थापन, लोड अनलोड, पार्किङ व्यवस्थापन लगायत काम अब सोही कम्पनीले गर्नेछ । निजी क्षेत्रलाई जिम्मेवारी दिएसँगै बन्दरगाह भन्सार व्यवस्थित ढंगले सञ्चालन हुने समितिको दाबी छ ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय व्यवस्थापन तथा सञ्चालनको जिम्मा पहिलोपटक निजीक्षेत्रलाई दिइएको हो। अब उक्त भन्सारको काम कारबाही थप व्यवस्थित र सहज हुने बताइएको छ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको अत्याधुनिक तातोपानी सुक्खा बन्दरगाह भन्सार २०७६ असार ३ गते समितिलाई हस्तान्तरण भएको थियो । हस्तान्तरणको ६ महीनासम्म कार्यालय सञ्चालनको काम समितिले नै गरेको थियो । २०७६ पुस १६ गतेदेखि बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको कार्य सरकार स्वामित्वको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्दै आएको थियो ।