काठमाडौं। लमजुङका सरकारी कार्यालय अपांगमैत्री नबन्दा अपांगता भएका व्यक्तिले विभिन्न समस्या भोग्दै आएका छन्। हरेक सरकारी कार्यालय, भवन र बाटो अपांगतामैत्री हुनुपर्ने कानुनी प्रावधान छ। तर पनि जिल्लाका ती संरचना अझैसम्म अपांगतामैत्री बन्न सकेका छैनन्।
यहाँ पुराना भवन मात्रै नभई नयाँ बनाइएका सरकारी कार्यालयका भवनसमेत अपांगतामैत्री हुन नसक्दा अपांगता भएका व्यक्तिलाई विभिन्न प्रकारका समस्या हुँदै आएको छ।
भौतिक संरचनासमेत अपांगतामैत्री नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या हुँदै आएको अपांगता संरक्षण समाज लमजुङका सचिव सीताराम बसेलले बताए। ‘राज्यले १० प्रकारका अपांगता भएका व्यक्ति निर्धारण गरेको छ। यीमध्ये शारीरिक अपांगता, सुस्त श्रवण भएका व्यक्ति, बहिरा व्यक्ति, न्यून दृष्टियुक्त व्यक्ति, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति, बौद्धिक अपांगता, श्रवण दृष्टिविहीन अपांगता र बहुअपांगता, हेमोफिलिया, अतितमा, मनोसामाजिक पर्दछन्,’ उनले भने।