खोटाङ। भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो। बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ। आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए।
वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ। यस्तै, नारायण राईको घरमा वर्षाको भलपानी पसेको छ । वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा क्षती पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए।
कतिपय स्थानीयको पहिरोले खोर पुरिँदा बाख्रा मरेका छ्न। हाल क्षतिको सिफारिस माग्ने पीडित वडा कार्यालयमा धाउन थालेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक ठूलो क्षतिको जानकारी नआएको बताए।