सिन्धुली। सुनकोसी–मरिण डाइभर्सन आयोजनाको दुई सय मिटरभन्दा लामो सुरुङ खन्न लागिएको छ। सुरूङको लागि टनेल बोरिङ मेसिन राख्ने काम अन्तिम चरणमा पुगेको हो।
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि मेसिन राख्ने प्लेटफर्मको काम अब साताभित्रै सकिने भएको छ । सुनकोसी नदीको पानी सुरुङबाट मरिण खोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा वर्ष अघिदेखि सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) राख्ने काम भइरहेको थियो ।
सुरुङको प्रवेशद्वारमा थोरै प्वाल पारेर दुई सय मिटर लामो प्लेटफर्म निर्माण भएपछि खन्ने काम सुरु हुनेछ । टीबीएम मेसिन बनेर आइसकेको छ। पार्ट–पार्ट गरेर मेसिनका सामान ल्याई जडान गर्ने काम एक साताभित्रै सकिने बताइएको छ । सुरुङमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले दसैंमा समेत काम जारी राख्ने जनाइएको छ । बिदामा घर नजानेहरूलाई काम लगाइने छ। अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भइसकेकाले सुरुङ खन्ने काम र सुनकोसीमा बाँध बाँध्ने (हेडवर्क्स) को काम सँगसँगै सुरु हुने उनको भनाइ छ ।
आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । गत आर्थिक वर्षबाट सुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य छ ।