बझाङ। केदारस्यूँ गाउँपालिकामा निर्माण गर्न लागिएको अस्पतालको भवनको ठेक्कामा आर्थिक चलखेल भएको आशंका गरिएको छ । गाउँपालिकाले गत असोज १७ गते १५ शैय्याको अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेकोमा केही त्रुटिसहित आर्थिक चलखेलको सम्भावना देखिएको हो ।
गाउँपालिकाले बोलपत्र आह्वान सम्बन्धि सूचना प्रकाशन गर्दा र त्यस पछिको बोलपत्र कागजातमा दिइएको सूचना फरक परेको देखिएको छ । ठेक्काको बैंक जमानत ३८ लाख ३१ हजार माग गरिएको छ जसको आधारमा ठेक्का १५ करोड भन्दा माथिको हो भन्ने बुझिन्छ । सार्वजनिक खरिद नियमावलीमा उल्लेख भएको नियमअनुसार इस्टमेटको ८० प्रतिशत कार्य अनुभव माग गर्नुपर्ने हुन्छ । ८० प्रतिशतका दरले कार्य अनुभव माग गर्दा करिब १२ करोड भन्दा माथिको भवन निर्माण गरिसकेको निर्माण व्यवसायीले मात्र बोलपत्रमा सहभागी हुन पाउँछन् । तर यस बोलपत्रमा मात्र चार करोडको भवन निर्माण गरेको कार्य अनुभव माग गरिएको छ ।
त्यस्तै ठेक्कामा हुने मुख्य निर्माण कार्य अर्थात कन्स्ट्रक्सन एक्सपिरेन्स इन कि एक्टिभिटिजमा करिब २०–२२ लाख रुपैयाँ पर्ने हाइ मास लाइट र करिब दुई लाख पर्ने ए।आई क्यामेरा राखेको कार्य अनुभव माग गरिएको छ । १५ करोडमाथिको निर्माण ठेक्कामा कूल इस्टमेटको २ प्रतिशत रकम समेत नहुने कार्यलाई प्राथमिकताका साथ मागिनु कोही एक निर्माण व्यवसायीलाई ठेक्का दिने पूर्व तयारीको सेटिङ्ग हो कि भन्ने देखिएको छ ।
यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेमा नियमविपरीत सेटिङ्गमा हुन लागेका गलत कार्य रोकिने छ । यसरी सेटिङ्गमा हुने ठेक्कापट्टका कारण नै अयोग्य कम्पनीले ठेक्का पाउने र देशका धेरै ठूलाठूला विकास निर्माणका कार्य समेत गुणस्तरहिन हुने गरेका छन् । यसले हाम्रो समृद्ध नेपालको कल्पनालाई केवल कल्पनामा मात्र सिमित गर्नेछ । यस विषयमा सरोकारबालाले समयमै ध्यान दिएर आवश्यक कारबाही अघि बढाउनु पर्ने देखिन्छ । सकेसम्म यस्ता गलत प्रकृयामा भइरहेको ठेक्कापट्टाका कार्य रोकिनुपर्छ ।