चितवन । चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाईं रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई आइतवार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरूसहित नौ जनाविरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उनले बताए । अन्यको खोजी कार्य भइरहेको कार्यालयले बताएको छ । उनीहरूविरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानिनोक्सानी पुर्याउनेलाई तीन वर्षसम्म कैद वा रू. तीन लाख जरीवाना हुने व्यवस्था रहेको छ ।
यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा क्षति भएको थियो । सो घटनापछि नेपाल चिकित्सक संघले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।